नेपालगन्जमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने

बाँके,माघ ४-मध्यपश्चिम क्षेत्रमा प्रचलनमा रहेको खाद्यान्नको संरक्षण र संर्बद्धन गर्नको लागि नेपालगन्जमा पहिलोपटक मध्यपश्चिमाञ्चल क्षेत्रीय खाद्य मेलाको आयोजना गरिने भएको छ । ‘परम्परागत स्थानीय खाद्य पदार्थको प्रबद्र्धन गरौ असल पोषणको लागि खानेबानीमा सुधार गरौ’ भन्ने मूल नाराका साथ नेपालगन्जमा आगामी माघको तेस्रो सातादेखि खाद्य मेलाको आयोजना गरिने भएको हो ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजना तथा कृषि मन्त्रालयको आर्थिक सहयोगमा आगामी माघको २२ र २३ गते नेपालगन्जको रामलिला मैदानमा क्षेत्रीय स्तरको खाद्य मेलाको आयोजना गर्ने तयारी रहेको कार्यालयका निमित्त प्रमुख बिनोद श्रीबास्तबले जानकारी दिनुभएको । उहाँले दिएको जानकारी अनुसार सो मेलामा यस क्षेत्रका परम्परागत खाद्य पदार्थको पहिचान हुने गरी ६० बढि स्टल राखेर क्षेत्रीय खाद्य प्रर्दशन मेलाको आयोजना गरिने छ ।

खाद्य मेलामा विभिन्न जातजातिका पहिचान दिने विशेष खानेकुरा, तथा विभिन्न पहिचान झल्काउने साँस्कृतिक कार्यक्रम समेतको आयोजना गरिने छ । उहाँले मेलाको तयारीको बारेमा विभिन्न निकायसंगको छलफल र परामर्श सुरु गरेको जनाकारी दिदै सकेसम्म बढी दर्शक र खानाका पारखीहरुको सहभागिता जनाउने गरी तयारी अघि बढाउन पहल गर्ने बताउनुभयो ।

मेलाको स्टल तथा मेला प्रबेश पूर्णतया निशुल्क रहने तथा मेलामा विभिन्न प्रकारका खानेकुराका परिकार खान तथा काँचो सुपथ मूल्यमा किनेर लौजान मिल्ने गरी बिक्रिको लागि पनि राखिने गरी तयारी अगाडि बढाईएको कार्यालयका खाद्य निरिक्षक एकराज बुढाथोकीले जानकारी दिनुभयो ।