उमेर हदबन्दी मान्न कांग्रेसको, विद्यार्थि नेताहरुलाई निर्देशन

काठमण्डौ,माघ ४-नेपाली कांग्रेसको पदाधिकारी बैठकले २८ वर्षे उमेर हद स्वीकार गर्दै स्ववियु निर्वाचनमा होमिन पार्टीसम्वद्ध विद्यार्थी संगठन नेविसंघलाई निर्देशन दिएको छ । बैठकले स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी गराउन पार्टीको तर्फबाट पहल गर्ने निर्णय पनि गरेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने घोषणा गरिसकेको छ ।

तर, उमेर हद स्वीकार गरेर स्ववियु निर्वाचनमा भाग लिने कि नलिने भन्नेमा नेविसंघमा चरम विवाद छ । हालै बसेको नेविसंघ केन्द्रीय समितिको बैठकले स्ववियु निर्वाचनमा एक पटकका लागि उमेर हद लागू नगर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ । यद्यपि, त्यसमा नेविसंघकै एक पक्षले फरक मत राखेको छ ।

५ हजार १ सय सदस्यीय तयारी समिति गठन उमेर हदको विषयलाई लिएर नेविसंघमा विवाद भइरहेका बेला मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा केही पदाधिकारीहरुको बैठक बसेको थियो । बैठकमा महामन्त्री शशांक कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंहसमेत सहभागी थिए ।

स्रोतका अनुसार देउवाले स्ववियु चुनावमा नेविसंघलाई जिताउने गरी तयारी गर्न नेताहरूलाई निर्देशन दिएका थिए । बैठक स्रोतले अनलाइनखबरसँग भन्यो, ‘स्ववियु चुनावमा भाग लिन पार्टीले निर्देशन दिइसकेको छ र नेविसंघलाई जिताउन आवश्यक रणनीति समेत लिइएको छ ।’ स्रोतका अनुसार स्ववियु चुनावको तयारीका लागि ५ हजार १ सय एक सदस्यीय समिति गठन गरिसकिएको छ ।