नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने

काठमाण्डाैं,वैशाख,१०-  

एक महिनायता जारी नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बुधबार सम्पन्न हुने भएको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार सकिने गरी बैठकलाई अघि बढाइएको जानकारी दिनु भएको हो । निर्वाचनको समिक्षा गर्ने मूल एजेन्डासहित एक महिनायता जारी केन्द्रिय कार्य समितिको आजको बैठकमा पनि नेताहरुले निर्वाचनमा हार व्यहोर्नुको कारण खोजीगरी पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउन नेतृत्वसँग आग्रह गरेका थिए ।

निर्वाचनमा केन्द्रित भएरै सदस्यहरुले आ–आफ्नो धारणा राख्ने काम जारी रहेको पनि प्रवक्ता शर्माले बताउनु भयो । केन्द्रिय सदस्यहरुले भोलीसम्म बोलिसक्ने गरी बैठकलाई अघि बढाइएको पनि उहाँले बताउनु भयो ।

गत चैत्र ९ गते चुनावको समिक्षा गर्ने मूल एजन्डासहित सुरु भएको काँग्रेस केन्द्रिय कार्य समिति बैठक पार्टी नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको थियो ।

त्यसपछि हिजोबाट पुनः शुरु भएको बैठकमा काँग्रेस नेताहरुले पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए । नेपालवाणीबाट