प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाण्डौं,असोज,११-प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ। 

नयाँ वानेश्वरस्थित संसद भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ।

एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ। आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ।