मुगुमा बस दुर्घटना,२३ जनाको मृत्यु, १८ बढी घाइते

मुगु बस दुर्घटना अपडेटः २३ जनाको घटनास्थलमै मृत्यु, १८ बढी घाइतेकाठमाडौं,असोज,२६-मुगुमा बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले नेपालखबरलाई जानकारी दिनुभयो।

उहाँका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उहाँले जानकारी दिनुभयो।

प्रनाउ भट्टले भन्नुभयो, ‘जिल्लामा ५ किमि प्रवेश गरेपछि बस ५०० मिटर तल भीरमा खसेको हो। बसमा कति यात्रु थिए खुल्न बाँकी छ। हामी उद्धारमा जुटेका छौँ।’ 

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले छायाँनाथ रारा नगरपालिका ७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। 

‘२२ जनाको मृत्यु भएको छ। म अहिले घटनास्थलमै घाइतेको उद्धारमा खटिएको छ। घटनाको विस्तृत विवरण पछि आउँछ,’ प्रजिअ महतले बताउनुभयो ।

अहिले उद्धार कार्य भइरहेको प्रनाउ भट्टले बताउनुभयो ।उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन्। बसभित्र अझै यात्रु चेपिएको हुनसक्ने उहाँले जानकारी दिनुभयो।

यता छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन्।उहाँका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो।