कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय

काठमाण्डौं,माघ,२७-

नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने शिक्षकलाई कार्बाही गर्ने संगठनले निर्णय गरेको हो ।सवैभन्दा पहिले संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरुवात गरिने साथै, पछि अन्यमा बिस्तार गर्दै जाने संगठनले जनाएको छ ।

संगठनको प्रदेश नम्बर ३ को प्रथम प्रदेश सम्मेलनले कक्षाकोठामा केन्द्रित हुन भन्दै ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सम्मेलनले दलको झोला बोक्ने तर, कक्षामा नपढाउने शिक्षकहरुलाई कार्बाही गर्ने निर्णय गर्दै संगठनका पदाधिकारीहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्ने निर्णय समेते गरेको छ । संगठनले अबको शैक्षिक क्रान्ति कक्षाकोठाबाट शुरु हुने समेत जनाएको छ ।अब सडकमा आन्दोलन गरेर होइन कक्षाकोठामा राम्रो पढाएर शैक्षिक क्रान्ति सम्पन्न हुने कुरामा संगठनले जोड दिएको छ ।

यसैविच : सम्मेलनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले विगतमा समयको माग अनुसार शिक्षकहरु राजनीतिक आन्दोलनमा सरिक भएपनि अब कक्षाकोठामा मात्रै केन्द्रित हुनुपर्ने बताउनुभयो । अब मुलुक अभूतपूर्व समृद्धीको दिशा तर्फ अगाडी बढ्ने भएकाले त्यसका लागि शैक्षिक विकास पहिलो शर्त भएको भन्दै सापकोटाले शैक्षिक रुपान्तरण नै शिक्षकहरुको अबको कार्यभार भएको जिकिर गर्नुभयो ।

अब क्रान्तिकारी र बामपन्थी शिक्षकहरुको एकता, सहकार्यसँगै शैक्षिक रुपान्तरणको आवश्यकता महत्वपूर्ण रहेको नेता सापकोटाले बताउनुभयो । कर्तव्य पुरा नगर्ने शिक्षक शिक्षक रहनै नसक्ने भन्दै उनले अब कक्षाकोठाको उपलब्धीको आधारमा शिक्षक मूल्यांकन हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै : माओवादी केन्द्रका नेता एवं शिक्षक फ्याक्सन इन्चार्ज पुष्पविक्रम मल्लले कर्तव्यनिष्ठ शिक्षक नै समृद्ध शिक्षाको मेरुदण्ड भएकाले मुलुकको विकासका लागि शिक्षकहरु कर्तव्यनिष्ठ बन्नुपर्नेमा जोड दिनुभयो । ‘हिजो के जिम्मेवारी पुरा गरियो, कुन भुमिकामा रहियो त्यो बिर्सों, समयको माग थियो’ । मल्लले भन्नुभयो ‘अबको समयको माग भनेको शैक्षिक स्तर सुधार नै हो, शिक्षकहरुको भुमिका यसमै केन्द्रित हुनुपर्छ ।

नेपाल शिक्षक महासंघका सह–अध्यक्ष रत्नबहादुर वलीले संगठनले विगदेखि नै उठाउँदै आएका मुद्दाहरु शिक्षा ऐनको आठौं र नवौं संशोधनले सम्बोधन गरेपनि नियमावली नआउँदा कार्यान्वयन हुन नसकेको भन्दै अब सरकारले छिटो नियमावली ल्याएर हुन्छ कि मन्त्रिपरिषद्बाट निर्णय वा कार्यविधिबाट हुन्छ शिक्षा ऐनको आठौं र नवौं संशोधन कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

‘शिक्षकहरुको अधिकार आन्दोलनको चरण सकियो अब कर्तव्य पुरा गर्ने आन्दोलनका लागि कक्षाकोठाबाट राम्रो प्रस्तुती दिनुपर्छ ।’ वलीले भन्नुभयो ” अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसीले क्रान्तिकारी बामपनथी तथा प्रगतिशिल शिक्षकहरु एकतावद्ध हुँदै जनवादी शिक्षाका पषमा संघर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले संघीय शिक्षा नीति नबन्दै स्थानीय तहले शिक्षकहरुलाई निरुत्साहित गर्ने गरी बनाएका नीति नियम नमान्ने बताउनुभयो ।शिक्षकहरुलाई तहलगाउने, निरुत्साहित गर्ने गरी स्थानीय तहहरुले नियमकानून बनाउदै गएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको भन्दै समान रुपमा शैक्षिक रुपान्तरणका लागि स्थानीयतहसँग मिलेर अघि बढ्न आफुहरु तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।