माओवादीले आज सबै स्थानीय तहको अधिवेशन गर्दै , प्रचण्डले दिउँसो भुर्चअल सम्बोधन गर्ने

काठमाडौं,मंसिर,११-नेकपा माओवादी केन्द्रले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहालले आज भर्चुअल सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्ने उहाँको सचिवालयले जनाएको छ ।

 

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ ।

यसअघि यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।