कांग्रेसले महाधिवेशन औपचारिक रूपमा सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थाल्ने

काठमाडौं,मंसिर,११-नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा शुभारम्भ हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने भएको छ । यही मंसिर २४ गते महाधिवेशन उद्घाटन कार्यक्रम हुने भए पनि निर्वाचन प्रक्रिया २१ गतेबाट नै सुरु गरिनेछ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले महाधिवेशनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै निर्वाचन प्रक्रिया थालिने जानकारी दिनुभयो । निर्वाचन प्रक्रियाअन्तर्गत पहिला महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरिनेछ ।

 

त्यसअघि सबै जिल्लाले क्षेत्रीय अधिवेशन पूरा गर्नुपर्नेछ । भ्रातृ, शुभेच्छुक संस्था तथा विदेशस्थित विभिन्न जनसम्पर्क समितिले समेत महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनुपर्नेछ ।

२२ र २३ गते पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ । तर निर्वाचन समितिले यस विषयमा औपचारिक निर्णय गरेको छैन । यसको टुंगो मंसिर २१ गते नै गरिने र महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जानकारी उहाँले दिनुभयो ।