एमाले १० औं महाधिवेशनको बन्दसत्र आजदेखि सुरु, निर्वाचनका लागि ८ बुँदे आचारसंहिता तयार

काठमाडौं,मंसिर,११-नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।

विहान १० बजे बन्दसत्र उद्घाटन हुने एमाले प्रचार विभागले जनाएको छ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् । बन्दसत्रमा आउने प्रतिनिधिलाई एमालेले आवास तथा भोजनको व्यवस्था गरेको छ ।

 

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन आइतबारसम्म चल्नेछ । यस्तै निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्बन्धि काम अन्तिम चरणमा पु¥याएको छ ।

सहमतिमार्फत नेतृत्व चयनमा नेताहरुके दौडधुप जारी रहेपनि निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो । समितिका संयोजक विजय सुब्बाले समितिले गर्नुपर्ने तयारी लगभग पूरा भएको भन्दै अध्यक्ष मण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बताउनुभयो ।

यस्तै निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको उहाँले जानकारी दिनुभयो । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको नेताहरुले बताएका छन् ।