निर्वाचन घोषणासँगै आयोग व्यस्त : दर्तामा १ सय ३ दल, ४४ अस्तिस्वविहीन

काठमाडौं,माघ,२७-संख्यात्मक दृष्टिले निर्वाचन आयोगमा थुप्रै दलको अस्तित्व रहे पनि चुनावी प्रतिस्पर्धामा भने थोरैको उपस्थिति देखिने गरेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा १ सय १३ दर्तामा रहे पनि ५७ दल मात्र प्रतिस्पर्धामा उत्रिएका थिए । हाल आयोगमा १ सय ३ वटा दर्ता भए पनि ४४ वटा खारेजीमा परिसकेका छन् ।

 

२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा सम्पन्न चुनावमा ५७ दलले मात्र चुनावमा उपस्थिति जनाए । आगामी २०७९ सालको चुनावको मिति घोषणा गरिसक्दा आयोगमा हाल १ सय ३ दल दर्ता छन् ।

सरकारले चुनावको मिति घोषणा गरेसँगै आयोगले निर्वाचनको सम्पूर्ण तयारी तीव्र बनाएको मात्र छैन, उसले केही दिनभित्रै निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गर्ने जनाएको छ ।

उसो त केही समय अघि मात्र आयोगमा दर्ता भएका दलहरूमध्ये ४४ दल कारबाहीमा परेर अस्तित्वविहीन भइसकेका छन् । आयोगले छिट्टै नै आसन्न निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्दैछ ।

यसका अतिरिक्त चुनावमा भाग लिन दलहरूले आयव्यय विवरण आयोगमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि आयोगले त्यसउपर छानविन जाँचबुझ गरी अन्तिम दल दर्ताको सूची सार्वजनिक गर्नेछ ।

दल टुटफुट, चुनाव चिन्ह विवादका विषय यसपल्ट पनि आयोगका लागि पेचिलो मुद्दा बन्ने निश्चित छ । यद्यपि सबै प्रक्रिया पूरा गरेर समस्या समाधान गर्न आयोग प्रतिवद्ध छ ।