निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

काठमाडौं,बैशाख,३०-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।

मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो ।

उहाँका अनुसार पौने पाँच बजेसम्म ६० प्रतिशत मत खसेको छ । मतदान साढे ६ बजेसम्म पनि जारी रहने र तराईका जिल्लामा साँझपख मतदाताको भिड लाग्ने भएकाले यो आँकडा अझै बढ्ने शर्माले बताउनुभयो ।

दलहरूको असझदारीका कारण केही ठाउँमा स्थगित भएका मतदान पनि ५ बजेभन्दा पछिसम्म चल्नसक्ने उहाँको भनाइ छ । मतदान केन्द्रभित्र प्रवेश गरेकाहरूले साँझसम्म भए पनि मतदान गर्न पाउने उहाँ बताउनुहुन्छ ।

निर्वाचनमा केही स्थानमा झडप हुनुलाई निर्वाचन आयोगले सामान्य रुपमा लिएको छ । आफूहरुलाई सुरक्षा निकायले भरपूर साथ दिएको भन्दै प्रवक्ता शर्माले अपवादको रुपमा भएका घटनालाई समष्ठिगत गर्न नहुने बताउनुभयो ।

झडप र गोलीका कारण सात ठाउँमा मतदान स्थगित भएको जानकारी आयोगलाई प्राप्त भएको बताउँदै प्रवक्ता शर्माले त्यसबारेमा आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो ।