साफ यू-१७ उपाधिका लागि आज नेपाल र भारत भिड्ने

खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुने

उपाधिका लागि नेपाल र भारत भिड्दैकाठमाडौं,भाद्र,२९-श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ।

भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि भारतविरुद्धको खेलमा नेपाललाई सहज नहुने बताउछन् ।

‘मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ,’ प्रि-म्याच कन्फरेन्समा मुख्य प्रशिक्षक श्रेष्ठले भनेका थिए ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ ।

यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।खेलपाटीबाट