
काठमाडौं,फाल्गुन,१६-नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज शनिवार दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ।नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल दोस्रो मैत्रीपूर्णमा घरेलु टोलीलाई हराउने योजनासहित मैदान उत्रनेछ । भारत पनि नेपाललाई हराउने योजनामा हुनेछ ।
पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । बुधबार भएको खेलमा दुई गोलको अग्रता उल्टाएर नेपालले घरेलु टोलीसँग रोमान्चक बराबरी खेलेको हो।नेपालका लागि दुबै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो ।
गत भदौमा दशरथ रंगशालामा भएको महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले हराएको थियो ।
ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा दिएको थियो।