जावलाखेल र सातदोबाटो विजयी,त्रिभुवन आर्मी र संकटाको बराबरी

एनआरटी र मछिन्द्र पहिलो खेलमै पराजीत

काठमाडौं,फाल्गुन,२१-शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आईतबार भएको खेलमा जावलाखेल र सातदोबाटो विजयी भएका छन् भने त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो ।

दुवै टोलीले खेलमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन्।बराबरीपछि दुवैले समान १ अंक जोड्दै लिग सुरु गरेका छन् ।

यस्तै:च्यासल मैदानमा आइतबार नै भएको अर्को खेलमा सातदोबाटोले एनआरटीलाई २-१ ले पराजित गरेको हो।

सातदोबाटोका लागि दिपक राज ठकुरीले ४५औं र ८४औं मिनेटमा गोल गरेका थिए । एनआरटीका निकोलस सङले पहिलो हाफको इन्जुरी टाइम (४५+५)मा गोल गरेका थिए ।

एनआरटीका लागि निकोलस सङले एक गोल फर्काए । जितपछि सातदोबाटोले ३ अंक जोडेर लिगको सुरुवात गरेको छ । एनआरटीले भने हारबाट लिगको सुरुवात गरेको छ ।

त्यसैगरी:शहीद स्मारक ए डिभिजन लिग २०७९ को साविक विजेता मछिन्द्र एफसी पहिलो खेलमै पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि कायम राख्न नसक्दा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भयो।

जावलाखेललाई पुनरागमन जित दिलाउन हिसुब थपलियाले एक गोल र एक असिस्ट गरे।कप्तान सिमान्त थापा र मासोबीले एक एक गोल गरे ।

खेलको २४औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई पहिले अग्रता दिलाएका थिए । लिग अघि लगातार गोल्डकप खेलेर थकित मछिन्द्रले जावलाखेल विरुद्ध अग्रता कायम राख्न सकेन ।

उता जावलाखेलले भने दोस्रो हाफमा शानदार पुनरागमन गर्दै तीन गोल गर्‍यो।५९औं मिनेट हिसुब थपलियाले गोल गर्दै जावलाखेललाई खेलमा फर्काएका थिए । त्यसपछि जावलेखेलले खेलमा पकड बनायो ।

६४औं मिनेटमा एनकोतो मासोबीले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाए ।७६औं मिनेटमा कप्तान सिमान्त थापाले हिसुबको फ्रिकिकमा हेडर गोल गर्दै ३-१ को अग्रता दिलाए ।

जितपछि जावलाखेलले ३ अंक जोड्दै लिगमा शानदार सुरुवात गरेको छ । मछिन्द्रले भने हारबाट लिग यात्रा सुरु गरेको छ ।