‘२० वर्षपछि नागरिकता पाए, १५ दिनसम्म छातिमा टाँसेर सुत्छु’

नवलपरासी,आषाढ,१२-जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने भएका छन्।सर्वोच्च अदालतले गत बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको हो।सर्वोच्चले बाटो खुलाएसँगै नागरिकता वितरण हुन थालेपछि नवलपरासीका युवाले अबिर जात्रा समेत गरेका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सोमबार नागरिकता लिएर बाहिरिदैं गरेका युवाहरुमा खुसीको सीमा थिएन।बाहिरिदैं गरेका युवाहरुले नागरिकता पाएपछि एक आपसमा अबिर दलेर खुशी साटासाट गरेका थिए।सँगै आएका अभिभावकका आँखा पनि खुशीले रसाएका थिए।जिल्ला प्रशासनमा आएका अन्य सेवाग्राहीले पनि उनीहरुलाई बधाई दिएका थिए।नागरिकता पाएपछि केही युवाहरुले खुशी व्यक्त गर्दै नागरिकता छातीमै टाँसेर सुत्ने बताए। एक युवाले २० वर्षपछि नागरिकता पाएकोमा धेरै खुशी भएको बताए ।धेरै समयको प्रतिक्षापछि नागरिकता पाएकोले १५ दिनसम्म छातिमा टाँसेर सुत्ने बताए।

नागरिकता नपाउँदा सामान्य मोबाइलको सीम कार्डसमेत निकाल्न नपाएको उनीहरुको गुनासो थियो।यस्तै, नागरिकता नहुँदा उच्च शिक्षा हासिल गरेर बसेका युवाहरु सबैभन्दा बढी मारमा परेका थिए ।जागिरदेखी अन्य कुनै पनि काम नपाउँदा निकै समस्या भोगेको उनीहरुको गुनासो थियो।

नागरिकता नहुँदा जति पिर युवाहरुमा थियो।त्यो भन्दा बढी पिर उनीहरुका अभिभावकलाई थियो।खाइनखाइ छोराछोरीलाई पढाए पनि नागरिकताकै कारण उनीहरुको सपना पूरा नहुने पिरलोले अभिभावकलाई सताएको थियो।नागरिकता पाएपछि अभिभावक अझ बढी खुशी भएका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपरासीमा अहिले जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानहरु नागरिकता बनाउन आउन थालेपछि भीड बढेको छ।भीड बढेपछि जिल्ला प्रशासन कार्यालयले त्यस्ता प्रकृतिका नागरिकता वितरण गर्नका लागि छुट्टै कर्मचारी राखेर वितरण प्रकृया अघि बढाएको छ।

नवलपरासीमा जन्मको आधारमा नागरिकता पाएका अभिभावकको संख्या ८ हजार १ सय ३० रहेको छ।उक्त संख्याको आधारमा अब २० हजार बढी सन्तानहरु नागरिकता बनाउन आउन सक्ने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।ईमेजखबरबाट