प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु

काठमाडौं,आषाढ,१२-सातौं औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो ।

यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका बारेमा जानकारी दिएको हो।

क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ ८ र महिलामा ६ टोलीले प्रतिष्पर्धा गर्दैछन्।पाँच महिना अगाडि सम्पन्न क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका टोलीले क्लव भलिबल लिग खेल्न लागेका हुन्।

पुरुषमा टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस, दावाली मिलन क्लब, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल क्लव संघ र शैलुङ बागढुङ्गा स्पोटर्स क्लबले चुनौति प्रस्तुत गर्नेछन् ।

महिलामा भने नेपाल पुलिस, न्यु डायमन्ड युथ स्पोटर्स क्लब, एपिएफ, आर्मी, एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबले प्रतिष्पर्धा गर्ने छन् ।प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो।

पुरुष र महिला दुवै तर्फ र्शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः ६ लाख, तीन लाख र एक लाख ५० हजार रुपैयाँ पाउने छन्।चौथो स्थानमा रहने टोलीले भने ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ।

पुरुषतर्फ क्लब लिगको उपाधि भिडन्त तय गर्ने दुई टोलीले पहिलोपटक हुन लागेको काभा क्लब भलिबल च्याम्पियनसिपमा खेल्ने छन्।नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक काभा क्लब भलिबल च्याम्पियनसिप नेपालमा नै हुँदैछ ।