हामीलाई प्रधानमन्त्रीको राजीनामा चाहिएको छ : अध्यक्ष ओली

काठमाडौं,असार,२०-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ।

राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टिकरण थियो।

प्रधानमन्त्री दाहालले केही दिन अघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटकपटक पहल गरेको अभिव्यक्ति दिएपछि एमाले लगायत विपक्ष दलहरुले राजीनामा माग गर्दै बुधबार संसद बैठक अवरुद्ध पारेका थिए।

त्यसलगत्तै ओलीले सञ्चारकर्मीहरुमाझ सो अभिव्यक्तिबारे प्रधानमन्त्री दाहालको स्पष्टिकरण नभई राजीनामानै आफ्नो पार्टीलाई चाहिएको बताउनुभयो।

त्यस अवसरमा ओलीले प्रधानमन्त्री दाहालले केही पनि राम्रो काम नगरेको जिकीर समेत गर्नुभयो।