यू-१९ विश्वकप : अफगानिस्तानलाई १ विकेटले हराउँदै,नेपाल सुपर सिक्समा

फाईल: तस्वीर ||

काठमाडौं,माघ,१२-आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ।नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो।

जितको लागि १४६ रनको विजयी लक्ष्य पाएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको हो।नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रन बनाउदै अर्धशतकिय इनिङ खेलेका हुन्। 

ओपनर अर्जुन कुमाल १० रन,गुलशन झा १ रन,विपिन रावल २ रनमा आउट भएका थिए।यस्तै त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे।दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए।त्यस्तै दीपक बोहरा ४२ बलमा ४ चौकासहित २७ रनमा आउट भए।टिमलाई जितको लागि ६ रन चाहिँदा दीपक बोल्ड आउट भएका थिए।आकाश चन्द १ रनमा आउट भए।सुवास भण्डारी २९ बलमा १ चौकासहित ९ रनमा नट आउट रहे भने तिलक भण्डारीले कुनै पनि बलको सामाना गर्न परेन ।

यस्तै अफगानिस्तानका लागी खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४-३ को अवस्थामा पुगेको थियो।

त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए।स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।

नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा दीपक डुम्रेबाट क्याच आउट आउट गराउँदै पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि अर्का तीव्र गतिका बलर आकाश चन्दले पाँच विकेट लिदै नेपाललाई खेलमा हाबी गराएका थिए।आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए। जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे।

त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४–५ को दयनीय अवस्थामा र्पुयाएका थिए। आकाशले २० रन बनाएका हसन इशाखिललाई दीपेशबाट क्याच गराए।उनले ३५ बलमा ४ चौका हानेका थिए।

नेपालका आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए।दीपेश कँडेलले ८ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए।गुल्शन झाले ८ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर १ विकेट लिए।

सुवास भण्डारीले ८.१ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिए।तिलक भण्डारीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर १ विकेट लिए।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अल आउट भएको थियो।

समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन्।नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ।समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।