कर्मचारीको तलब कटाएर दलित अपाङ्गलाई सहयोग

जाजरकोट,मंसिर १८-जाजरकोटमा रहेको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गर्ने भएका छन् । जिल्लाको अति विकट नायकवाडा गाविस– ३ का अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई ५८ हजार ५ सय रुपैयाँ सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो ।

पहल कार्यक्रममा काम गर्ने १७ जना कर्मचारीको आफ्नो तलबबाट कटाएर अपाङ्ग भएका विद्यार्थी मोहनीलाललाई सो रकम आज हस्तान्तरण गरिएको हो ।मोहनीलालले रकमकै अभावमा भेरी ज्ञानोदय क्याम्पसमा परीक्षाको रकम तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएका थिए । रकम भएको भए उनी अहिले बिएड तेस्रो वर्षमा अध्ययन गदै थिए। मासिक फिस, परीक्षा शुल्क तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएको मोहनीलालको भनाइ छ ।