कञ्चनपुरका ग्रामीण क्षेत्रमा छाउपडी प्रथा कायमै

कञ्चनपुर,मंसिर ३०-कञ्चनपुरका ग्रामीण क्षेत्रमा अझैं पनि छाउपडी महिनावारी भएका बेला गोठमा बस्नुपर्ने प्रथा कायमै रहेको छ । छाउपडी प्रथा अन्त्यका लागि भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाले सचेतनामूलक कार्यक्रम गर्दै आएपनि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका र कृष्णपुर नगरपालिका अधिकांश ग्रामीण वस्तीमा छाउपडी प्रथा कायमै रहेको छ ।

छाउपडी प्रथा अन्त्यका लागि भन्दै स्थानीय महिला स्वास्थ्य स्वयम्सेविका तथा सरकारी र गैरसरकारी सस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर, कृष्णपुर र झलारी पिपलाडी नगरपालिकाका गाउँघरमा अझैं पनि छाउगोठ यथावत् रहेका छन् ।

अशिक्षा, अन्धविश्वास, जनचेतनाको अभावले छाउपडी प्रथा कायमै रहेको स्थानीयको भनाई छ । कृष्णपुर नगरपालिका दिव्यनगर दोमिल्ला  मा झण्डै ६ सय परिवारमध्ये २ सय परिवारमा छाउपडी प्रथा कायमै रहेको स्थानीय रमेशदत्त भट्टले बताउनुभयो । गाउँमा धेरैजसो महिला महिनावारी र सुत्केरी भएका बेला छाउगोठमा बस्ने गरेको महिला स्वास्थ्य स्वयम्सेविका शारदा बस्नेतले बताउनुभयो ।