राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा ख्रीष्टमसको दिन बिदादिन सरकारसंग तीन बुँदे माग

काठमाडौँ, मंसिर ३० – राष्ट्रिय खी्रष्टियन महासंघ, नेपालले सार्वजनिक बिदालाई कायम गराउनको लागि सरकार समक्ष तीन बुँदे माग अघि सारेको छ । आज रिपोटर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर सो माग अघि सारेको हो । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको २०७३ सालको ख्रीष्टमससँग जोडिएको सार्वजनिक विदा कटौती सम्बन्धी विषयमा इसाई सरकारी कर्मचारीलाई मात्र सिमित गरिएकाले सरकारको उक्त कदम यथाशीघ्र फिर्ता लिई खी्रष्टमसलाई सार्वजनिक विदा कायम गर्नुपर्ने, विगतमा गरिएका तीन बुँदे र ६ बुँदे सहमति कार्यन्वयन गर्नुपर्ने लगायतका मागहरू अघि सारेको हो ।कार्यक्रमा मानव अधिकारकर्मी चरण प्रसाईले सरकारले गर्ने कामभन्दा पनि नगर्ने कामहरु निरन्तर गर्दै आएको आरोप लगाउनुभयो ।

उहाँले अघि थपे,‘राज्यले जतिसुकै धर्मवालम्बीहरू छन् । उनीहरूलाई समान रुपले सम्मान गर्नुपर्छ, राज्यले विभेदकारी नीति अवलम्बन गर्नु हुँदैन ।’ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सीबी गहतराजले २०६४ सालदेखि ख्रिष्टियन समुदायले प्राप्त गरेको सार्वजनिक बिदा पूर्ववर्ति केपि शर्मा ओलीको सरकारले बिना कारण हटाएकोमा गम्भीर आपत्ति जनाउनुभयो । गहतराजले यदि सरकारले सबै धर्मवालम्बीहरूलाई समान तरिकाले हेर्न सकेन भने त्यो भन्दा दुःखद कुरा अरु केही नहुने भन्दै सार्वजनिक रुपमा ईसाई समुदायले खाईपाई आएको विदालाई खोसिनु लोकतन्त्रको मर्म विपरित काम भएको बताउनुभयो ।