व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित, २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने तीन दलको प्रतिवद्धता

काठमाण्डौं,पुस ४-व्यवस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो ।  बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावले कुनै पनि नेपालीले नजित्ने भन्दै फिर्ता लिनुपर्ने बताउनुभएको थियो । मंसिर १४ गते सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गराएपछि एमाले लगायतका विपक्षी दलले त्यसको विरोधमा मंसिर १६ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संसदको अर्को बैठक पुस ७ गने १ बजेका लागि तय गरिएको छ ।
यसैविच
प्रमुख तीन दलले २ दिनभित्र राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । सभामुख ओनसरी घर्तीसामू प्रमुख प्रतिपक्षी एमालेसहित नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले मुलुकलाई निकास दिन अव ढिलाई नगर्ने बचन दिएका हुन् । संसदको गतिरोध अन्त्य गर्न सभामुख घर्तीले सोमबार आहृवान गरेको बैठकमा सत्तापक्ष र प्रतिपक्ष संविधान संशोधन प्रस्ताव फिर्ता लिनेरनलिने आ–आफ्नै अडानमा कायम रहेपनि वार्तामार्फत समस्या समाधान गर्न भने सहमत देखिएका हुन् ।  बैठकको सुरुमै प्रधानमन्त्री दाहालले निर्वाचनमा जान पनि संविधान संशोधन प्रस्ताव ल्याउनु परेको भन्दै विपक्ष एमालेलाई सरकारको बाध्यता बुझिदिन आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले राष्ट्रघाती संविधान संशोधन विधयेक फिर्ता नभई अघि बढन नसकिने अडान राखेका थिए ।

बैठकमा नेताहरुले आ(आफनै अडान राखे पनि २ दिनभित्र समस्या समाधान हुने गरी वार्तामा बस्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता एवम उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति घोषणा लगायतका विषयमा प्याकेजमै सहमति गर्नका लागि संवाद प्रक्रियालाई तीव्रता दिने सहमति भएको प्रतिक्रिया दिए । प्रमुख प्रतिपक्ष एमाले उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसदको गतिरोध जारी राख्ने अडानबाट पछि हट्न नसकिने स्पष्ट पारे । उनले असंवैधानिक तवरले आएको संविधान संशोधन प्रस्तावको विरोधमा सबै खालका गतिविधि अघि बढाउनु पर्ने अवस्था आएको पनि उल्लेख गरेका छन् ।