बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको सङ्ख्या बढदै गएको देखाउँछ ।
माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये हालसम्म एक सय १३ जना फेला परेका छन् । फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेसिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ’ संयोजक कोइरालाले भन्नुभयो ।
कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी ७० प्रतिशत खाडी मुलुक र बाँकी भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार प्रतिशत समेत बढेको छ । राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेको संयोजक कोइरालाले बताउनुभयो ।
महिलाको विश्वास जित्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ थियो । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब एक हजारभन्दा बढी महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाएको जनाइएको छ ।साभार रातोपाटीबाट