असन्तुष्ट भएका २०० वकिलले दिए सामूहिक राजीनामा

काठमाडौं, माघ २७ न्यायपरिषद्ले उच्च अदालतहरुमा गरेको न्यायाधीश नियुक्तिमा नेपाल बार एसोसिएसनले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै केही कानुन व्यवसायीले नेपाल बारको सदस्यता त्यागेका छन् ।न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति भेदभावयुक्त भएको भन्दै प्रदेश नम्बर–२ का करिब २०० वकिलले आज नेपाल बार एसोसिएसनबाट संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

उनीहरुले न्यायाधीश नियुक्ति संवैधानिक र कानुनसम्मत् नभएको जिकिर गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।नेपाल बारको कार्यसमितिमा रहेका २ नम्बर प्रदेशका सबै र अरु इच्छुकसमेतले सामूहिक राजीनामा बुझाएका बताइएको छ ।

न्यायपरिषद्ले गरेको न्यायाधीश नियुक्ति समानुपातिक र समावेशी सिद्धान्तविपरीत रहेको गुनासो उनीहरुले गरेका छन् ।यसअघि, नेपाल बारको नेतृत्वले पनि न्यायपरिषद्ले गरेको निर्णय अन्यायपूर्ण भएको भन्दै बेन्चविरुद्ध आन्दोलन नै घोषणा गरेको थियो ।सर्वोच्च अदालत र नेपाल बारका प्रतिनिधि सम्मिलित समितिले बीचको बाटो खोज्दै विवाद समाधान गरेको थियो।

आन्दोलनकैक्रममा बारले सर्वोच्च अदालतसँग सम्झौता गरेर धोका दिएको भन्दै ती वकिलले राजीनामा दिएका हुन् । बार र बेन्चबीच भएको उक्त सहमति अस्वीकार्य रहेको पनि उनीहरुले बताएका छन् ।साभार ईमेज खबरबाट