अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने

एजेन्सी, माघ २७- अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन ट्रम्प प्रशासनले आवश्यक तयारी थालेको छ ।राष्ट्रपति डोलान्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरुको आगमन रोक्न विशेष पहल गर्ने यसअघि नै बताइसक्नु भएको थियो । हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् ।

सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर डेविड पेर्ड्युले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । सो प्रस्तावअनुसार अमेरिकामा प्रतिवर्ष भित्रिने विदेशीको संख्यामा भारी कटौती गरिने छ ।यो प्रस्ताव पारित भएमा अमेरिकामा बस्दै आएका विदेशीहरु संकटमा पर्ने बताइएको छ । ग्रीन कार्ड लिने प्रक्रियामा रहेका लाखौं आप्रवासीहरु यो प्रस्तावका कारण निराश भएका छन् ।

अमेरिकामा वार्षिक १० लाखको हाराहारीमा विदेशीहरु प्रवेश गर्ने गरेका छन् । नयाँ प्रस्तावअनुसार यसरी आउने विदेशी नागरिकको दर वार्षिक ५ लाखको हाराहारीमा सीमित गर्ने योजना छ । उक्त प्रस्तावलाई ट्रम्प प्रशासनले समर्थन गरेको छ । संसदको दुबै सदनमा सत्तारुढ दलकै पकड बलियो रहेका कारण पनि प्र्रस्ताव पारित हुनेमा धेरैले विश्वास गरेका छन् ।

प्रस्ताव पारित भएमा अमेरिकामा ग्रीन कार्डको आशमा बस्दै आएका लाखौंले अमेरिका छाड्नुपर्ने अवस्था निम्तिन सक्छ ।अमेरिकामा ग्रीन कार्ड पाउनका लागि १० देखि ३५ वर्ष समय लाग्ने गर्दछ । तर प्रस्ताव पारित भएमा यो समयावधि अझ लामो हुने बताइएको छ । साभार ईमेज खबरबाट