ट्रम्पद्धारा इजरायल र प्यालेष्टायनबीच दुई राष्ट्रको नीति परित्यागको घोषणा

एजेन्सी, फागुन ५- अमेरिकाले इजरायल र प्यालेष्टायनबीच वर्षौदेखि चल्दै आएको संघर्ष अन्त्यका लागि लिँदै आएको दुई राष्ट्रको नीति परित्याग गरेको घोषणा गरेको छ ।ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले दुई राष्ट्र नीति परित्याग गरेको बताउनु भएको छ ।

आफूले दुई राष्ट्रको साटो एक राष्ट्रका रुपमा देखिरहेको भन्दै उनले एक वृहत शान्ति सम्झौता गराउने र त्यसका लागि दुबै पक्षले मन मार्नपर्ने सुझाव दिनुभयो ।ट्रम्पले विवादित क्षेत्रमा नयाँ भवन बनाउने काम केही समयका लागि बन्द गर्न पनि आह्वान गर्नुभयो ।गएको महिना मात्र ट्रम्प राष्ट्रपति बन्ने बित्तिकै इजरायलले पश्चिमी किनारा र पूर्वी जेरुशलममा हजारौ घर बनाउन स्वीकृत दिएको थियो ।इजरायल र प्यालेष्टायनबीच सन् २०१४ देखि वार्ता हुन सकेको छैन ।

इजरायल र प्यालेष्टायनबीच दशकौंको संघर्ष समाधानका लागि दुई पक्षका नेता र अन्तर्राष्ट्रिय समुदायले दुई राष्ट्र सिद्धान्तलाई आफ्नो घोषित लक्ष्य बनाएका थिए ।यसै आधारमा पश्चिमी किनारा, गजापट्टी र पूर्वी जेरुशलममा १९६७ को युद्धविराम रेखाभन्दा पहिलाको क्षेत्रमा एक स्वतन्त्र प्यालेष्टायनी राष्ट्र बनाइने र उसले इजरायलसँग शान्तिपूर्ण सम्बन्ध बनाउने भन्ने थियो ।यसमा संयुक्त राष्ट्रसंघ, अरब लीग, यूरोपीय यूनियन, रुस र अमेरिकाले पटक पटक आफ्नो प्रतिवद्धता जनाएका थिए । तर अहिले ट्रम्पले उक्त नीतिबाट पछि हट्ने संकेत दिनुभएको हो ।