काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा चुनाव स्थगित हुने सम्भावना

काठमाडौं, फागुन १६- काठमाडौं उपत्यकाका ठूला क्याम्पसमा बुधबार स्ववियु चुनाव नहुने सम्भावना बढेको छ ।त्रिभुवन विश्वविद्यालयले आज बिहान उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेगरी कार्यतालिका संशोधन गरे पनि उपत्यकाका केन्द्रिय क्याम्पस कीर्तिपुर, आरआर, त्रिचन्द्र, पाटन, पशुपति, मीनभवन, पाटन संयुक्त, सानोठीमी, अमृत साइन्स लगायत धेरैजसो क्याम्पसमा तालाबन्दीका कारण मनोनयनपत्र नै दर्ता हुन सकेको छैन ।

बिहान साढे १० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको र त्यसबेलासम्म पनि विद्यार्थी संगठनले आन्तरिक विवाद मिलाएर सहमति नगरे तालाबन्दी भएका क्याम्पसमा चुनाव स्थगित गरेर बाँकी क्याम्पसमा बुधबार नै चुनाव गराउने तयारी भइरहेको त्रिभुवन विश्वविद्यालयकी रजिष्टार सुधा त्रिपाठीले जानकारी दिनुभयो ।

क्याम्पसहरुमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नयाँ शक्ति निकट विद्यार्थी संगठन लगायतले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् ।तालाबन्दी गर्ने संगठनको नीति नभएको बताएपनि नेविसंघ अनेरास्ववियु लगायत संगठनले तालाबन्दी खोल्न तथा तालाबन्दी गर्ने आफ्नै संगठनका नेता कार्यकर्तालाई कारबाही गर्न सकेका छैनन् । साभार उज्यालो अनलाईनबाट