सडक र रेलमा चिनियाँ राष्ट्रपतिको चासो, काठमाडौंहुँदै लुम्बिनीसम्म रेलमार्ग जोड्न प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं,चैत,१५-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताउनु भएको थियो ।भेटवार्ता लगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिनुभएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताउनु भएको थियो ।

पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भन्नुभयो, ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गर्नुभएको छ ।प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताउनु भएको थियो । प्रचण्डका अनुसार राष्ट्रपति सीले भने, ‘व्यक्तिगत रूपमा नै मैले नेपालसँग रेल र रोड विस्तारमा रुचि राखेको छु ।

सीमापार विशेष आर्थिक क्षेत्र र सीमापार विद्युत् प्रसारण लाइनमार्फत पनि दुई देशबीच आर्थिक साझेदारी वृद्धि हुन्छ भन्ने मलाई लाग्छ ।प्रचण्डले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि ९० लाख युयान ९१३ करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा समेत गरेको छ ।प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणाको स्मरण गराउनु भएको थियो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र कूटनीतिक च्यानलमार्फत समय तय गरिने जवाफ दिनुभएको थियो ।प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक अवस्थितिले विगतमा समस्या रहे पनि अब चीन र भारतजस्ता विशाल छिमेकीका कारण अवसर रहेको बताउनुभयो ।

उहाँले एसियाका भीमकाय देश भारत र चीनको बीचमा नेपालले पुलको काम गर्ने पनि बताउनुभएको थियो ।राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो। जवाफमा राष्ट्रपति सीले यसबारे छलफल गर्दै टुंगोमा पुग्न सकिने बताउनु भएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।