आयोगले आचार संहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री थापालाई स्पष्टिकरण सोध्ने

काठमाणडौं, चैत  २२-
निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई स्पष्टीकरण सोध्ने जनाएको छ । आयोगले उपप्रधानमन्त्री थापाले आचार संहिताविपरीत केही जिल्लाको भ्रमणमा गएकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

उपप्रधानमन्त्री थापाले स्याङ्जा, बाग्लुङ्गमा कार्यकर्तासँग भेट्ने आयोगलाई कुनै जानकारी नगराएका कारण यसबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।उपप्रधानमन्त्री थापा आइतबार स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित सिरुबारी पुग्नु भएको थियो । स्याङ्जा सदरमुकाम सिरुवारीमा पुगेर कमल थापाले आफ्ना निकट कार्यकर्ताहरुसँग भेटघाट गर्नु भएको थियो ।

उहाँ राप्रपा नेपालका तत्कालीन स्वर्गीय महामन्त्री चन्द्रबहादुर गुरुङको घरमा पनि जानु भएको थियो ।स्याङजाबाट पोखरा हुदैं बाग्लुङ गएका थापाले बाग्लुङ्गमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्नु भएको थियो । यसैवीच राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले मन्त्री थापाबाट आचार संहिता उल्लंघन नभएको दाबी गर्नु भएको छ ।