आजबाट मतगणनाले गति लिने आयोगको भनाई

काठमाडौं,जेठ,२-

स्थानीय तहको पहिलो निर्वाचनको मतगणना आजपनि जारी रहेको छ । बिहानैदेखि विभिन्न जिल्लाको मत परिणाम आउने क्रम जारी रहेको छ । पहिलो चरणको निर्वाचन भएको ३४ जिल्लामा मतगणना चुनाव भएकैदिन देखि सुरुभएपनि अधिकाँस जिल्लामा हिजोबाट सुरुभएको हो । 

मतपत्र लामो र धेरै उम्मेदवार भएकाले ढिलो गरि नतिजा आउने क्रम जारी रहेको भएपनि आजदेखि भने मतगणना कार्यले गति लिने भएको छ । हिजो पहिलो दिन भएका कारण ढिलोजस्तो भएपनि आज बाट मतगणनाले गति लिने निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले जानकारी दिनुभयो । उहाँले पहिलो चरणको मतगणना पूरा हुन पाँचदेखि सात दिने लाग्ने बताउनुभयो ।

मतपत्र ठूलो हुनु र एउटै मतपत्रमा सातजना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था भएकाले पनि मत गणना गर्न समय लागेको निर्वाचन अधिकृतहरुको भनाई छ । स्थानीय तहको निर्वाचनमा सातजनालाई मत दिनुपर्ने र मतगणना गर्दा पनि सातजना उम्मेदवारले चित्त बुझाउनुपर्ने भएकाले पनि समय बढी लागेको बताउनुभयो । मतपत्रको कुनै एक पदमा विवाद भएमा त्यसले लामो समय लिने भएकाले पनि मतगणनाको कार्य ढिलो हुने निर्वाचन आयोगको भनाई छ ।