सरकार र विप्लव समूहबीच बालुवाटारमा वार्ता जारी

फाईल तस्विर: प्रधानमन्त्रीको फेशबुक पेजबाट साभार !!

काठमाडौं,फागुन,१९-सरकार र नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहबीच औपचारिक रुपमा वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । वार्ताका लागि विप्लव समूहको वार्ता टोली मंगलवार साँझै काठमाडौं आएको थियो । उच्च सुरक्षा सतर्कताबीच दुबै समूह अहिले बालुवाटारमा छलफलमा रहेका छन् ।

वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता समिति गठन भएको थियो ।

विप्लव समूहले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन र समातिएका आफ्ना नेता तथा कार्यकर्तालाई तुरुन्त रिहाइ गर्नुपर्ने माग अघि सारेको छ ।

विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ फागुन २८ मा विप्लवको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लो समय समस्याको समाधान वार्ताबाटै गर्न दुवै पक्ष तयार देखिएका थिए ।

गृहमन्त्री थापाको सक्रियतामा दुवै पक्षबीच वार्ताको वतावरण तयार भएको बताइएको छ ।

दुवै पक्षबीच तीनबुँदे सहमति लिखित रूपमा भएसँगै विप्लव समूह वार्ताका लागि तयार भएको स्रोतको भनाइ छ ।

दुवै पक्षबीच आदानप्रदान भएको तीनबुँदे गोप्य सहमतिपत्रमा विप्लवले सहमति जनाएपछि वार्ताको औपचारिक घोषणा गरिएको हो ।

नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई पनि वार्ता गरेर समस्या समाधान गर्ने बताउनु भएको थियो ।

सोही अनुसार सरकारले वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली गठन हुँनासाथ विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।

सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको हो ।

यस्तै विप्लव समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीमा रहेका थापा र विश्वकर्मा दुबै पूर्व माओवादी हुन् । उनीहरु दुवै सशस्त्र क्रान्तिबाट आएका हुन् ।