प्रधानमन्त्री निर्वाचनको सूचना आज सार्वजनिक गरिने

काठमाण्डौ,जेठ, १९-

व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा आज प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसद्मा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन ।

यद्यपि संसद् बैठकमा जानकारी नगराई प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्न सचिवालयलाई कुनै कानुनी बाधा नभएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।

सोही वियषमा छलफल गर्न शुक्रबार बिहान १० बजे सभामुख ओनसरी घर्तीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । बैठकमा छलफल गरी सहमतिमा प्रधानमन्त्रीको निर्वाचन तालिका सार्वजनिक गरिने सचिवालयको तयारी रहेको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको नेकपा(एमाले)ले आज दोस्रो दिन पनि सदन अवरोध गरेको छ । संसद्को अर्काे बैठक यही जेठ २१ गते बिहान ११ बजेका लागि तोकिएको छ ।