नेपाल आयल निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई

काठमाण्डौं,कार्त्तीक,१४-

आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ। आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

निगमको जग्गा खरिदमा अनियमितता भएको भन्दै चौतर्फी दबावमा परेपछि सरकारले खड्कालाई हटाएको थियो। सर्वोच्च अदालतको आदेशपछि खड्का पुनः कामकाजमा फर्कनुभएको थियो।

निगमको जग्गा खरिदका विषयमा नागरिक तथा अन्य सरोकार भएका निकायले चौतर्फी रुपमा खबरदारी गरेपछि आपूर्तिमन्त्री जयन्त चन्दले आज खड्कालाई मन्त्रालयमा हाजिर गराउने निर्णय गर्नुभएको हो। सचिव देवकोटाले तत्कालका लागि निगमको कामकाज गर्न निगमकै निर्देशक भट्टराईलाई जिम्मा दिइएको बताउनुभयो ।