विश्वकप छनोटमा : नेपालको शानदार जित

नेपाली फुटबलले निरन्तर सुधार गरिरहेको छ – कालीन

काठमाण्डौं,भाद्र,२४-

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ नेपालले शानदार जित निकालेको छ ।ताइपे स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोली चाईनिज ताइपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।

नेपाललाई जित दिलाउन अन्जन बिष्ट नायक बने । दुवै गोल अन्जनले गरेका थिए । बिष्टले पहिलो हाफतर्फ तेस्रो मिनटमै गोलको खाता खोलेका थिए भने दोस्रो गोल ६३औं मिनटमा उत्कृष्ट रुपमा गर्दै नेपालको महत्वपूर्ण जित पक्का गरेका थिए ।

आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० को लज्जाजनक हार बेहोरेको नेपालले यो जितसँगै अंकतालिकामा महत्वपूर्ण ३ अंक पनि जोडेको छ । उता आफ्नो पहिलो खेलमा जोर्डनसँग २–१ ले हारेको ताइपेई भने घरेलु मैदानमै फेरि स्तब्ध हुन पुगेको छ ।

यसैबिच : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले नेपाली फुटबलले निरन्तर सुधार गरिरहेको बताएका छन् ।विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्व शानदार जित निकालेपछि प्रशिक्षक कालिनले आफुहरु चरणबद्व तरिकाले अघि बढिरहेको बताएका हुन् ।

पहिलो पटक जित हात पार्दा राम्रो महशुश भईरहेको छ । निरन्तर राम्रो खेल्दा समेत नतिजा हात परेको थिएन । तर हामीले निरन्तर सुधार गरिरहेको छ ।’ उनले भने ।उनले दुवै गोल सेट पिस गर्न सफल रहेको भन्दै प्राप्त मौकालाई सदुपयोग गर्न सकेको उल्लेख गरे ।

ब्राजिली फुटबलको उदाहरण दिदै कालिनले विश्वकपमा ७–१ को फराकिलो हारपछि ब्राजिली फुटबलले राम्रो गरिरहेको बताए । नेपालको सन्दर्भमा समेत सो कुरा प्रमाणित भएको उनको भनाई छ ।

यस्तै ताइपेविरुद्ध पनि नेपालको पहिलो जित हो । यसअघि गत जेठमा भएको मैत्रिपूर्ण खेलमा नेपालले ताइपेसँग १-१ गोलको बराबरी खेलेको थियो ।

विश्वकप छनौटतर्फ नेपालले आफ्नो दोस्रो खेल अक्टुबर १० तारीखका दिन दावेदार अष्ट्रेलियासँग खेल्नेछ । छनौट प्रतियोगितातर्फ समूह बी मा नेपालले अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिजत ताइपेई विरुद्ध होम एण्ड अवे म्याच खेल्ने कार्यक्रम छ ।