काठमाण्डौ,भाद्र,२६-
किर्गिस्तानमा सम्पन्न प्रतिष्ठित नादेझ्दा कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नेपालले आफू भन्दा निकै बलियो उज्बेकिस्तानसँग ३-२ को सम्मानजनक हार बेहोरेको हो ।
यसअघि यी दुई टोली लिग चरणमा पनि भिडेका थिए । त्यतिबेला नेपालले २–० ले नतिजा गोलले हारेको थियो ।आजको हारसँगै नेपाली महिला फुटबल टोली अन्तर्राष्ट्रिय उपाधि जित्न फेरि चुकेको छ ।
यसैबिच : फाईनल खेल सम्म पुग्दा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी किर्गीस्तानमा सम्पन्न नादेझ्दा कप फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।प्रतियोगितामा सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन सफल सावित्राले कुल ७ गोल गरिन् ।
यसैगरी : नेपालले लिग चरणतर्फ आयोजक किर्गिस्तान र ताजिकिस्तानलाई हराउँदै उपविजेताका रुपमा फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा नेपालसहित उज्वेकिस्तान, किर्गिस्तान र ताजिकिस्तानले सहभागिता जनाएका थिए । फिफा वरियतामा उज्वेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०६औं स्थानमा छ ।