काठमाडौं,जेठ,३१-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि गर्व अनुभूति भइरहेको प्रतिक्रिया दिनुभएको छ।
शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो। यो संसदको जम्मा संख्या २७५ को दुई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गर्नु भएको थियो ।
लगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदैँ नेता थापाले लेख्नु भएको छ, ‘सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ। राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहिरहनेछ।’
थापाले अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने प्रतिबद्धता जनाउनु भएको छ ।नेपालखबरबाट