राजश्व संकलनका लागि बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

फाईल तस्विर !!

काठमाडौं,भदौ,२३-नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा-काउण्टर खोल्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी रहेका कारण सिमित संख्यामा मात्रै बैंकका शाखाहरु सञ्चालनमा छन् ।

यसैबीच, व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन सरकारसँग माग गरेका छन् ।

यसअघि व्यवसायीहरुले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भएको छलफलमा पनि भ्याट तथा कर तिर्ने समयावधि बढाउन आग्रह गरेका थिए ।