काठमाडौं,फाल्गुन,२८-सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियन कपको संयुक्त छनोट अन्तर्गत नेपालले खेल्न बाँकी ३ खेल कुवेतमा सञ्चालन हुने भएको छ ।
यसअघि घरेलु मैदानमा खेल्ने तय भएका चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंगको खेल कुवेतमा सञ्चालन हुने गरी एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले सूचना जारी गरेको छ ।
एएफसीले शुक्रबार विश्वकप छनोट अन्तर्गत आठवटै समूहको बाँकी खेल आयोजक देशको सूची सार्वजनिक गरेको छ । नेपाल सम्मिलित समूह बीका सबै खेल कुवेतमा हुनेछ ।
कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागेको एएफसीको भनाइ छ । यी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।
यसअघि नेपालले मार्च अन्तिम साता घरेलु मैदानमा दुई खेल खेल्ने तय थियो । तर कोरोना महामारीका कारण अझै रहेका यात्रा प्रतिबन्ध र क्वारेन्टिन प्रावधानका कारण एएफसीले ती खेल स्थगित गरेको थियो ।
छनोट अन्तर्गत नेपालले अहिलेसम्म ५ खेल अवे मैदानमा खेलेको थियो । गत वर्ष नेपाल र कुवेतबीचको खेल नेपालको घरेलु मैदानमा हुने तय भए पनि दशरथ रंगशाला पूर्ण रुपमा तयार नहुँदा भुटानमा खेलाइएको थियो । छनोट चरणमा नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।
एएफसीका अनुसार अब छनोट चरणका खेलमध्ये समूह एको चीनमा, समूह सीको बहराइनमा, समूह डीको साउदी अरेबियामा, समूह ईको कतारमा, समूह एफको जापानमा, जीसमूह को युएईमा र समूह एचको दक्षिण कोरियामा हुनेछ ।