काठमाडौं,कार्तिक,३-आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रहेको छ ।
बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।
आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ ।
प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा केहीदिनदेखि वर्षा भइरहेको छ । वर्षा र हिमपात हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।