संविधान कार्यान्वयन संवैधानिक व्यवस्था अनुसार हुने थापा

चितवन,मंसिर २९-राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान कार्यान्वयन संवैधानिक व्यवस्था अनुसार नै हुने जनाएको छ । अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन दलीय सहमति नभई संविधान अनुसार नै हुने स्पष्ट पार्नुभएको छ । संविधान कार्यान्वयनका लागि तीन ठूला दलबीच छलफल भइरहेका बेला अध्यक्ष थापाले कानुन विदहरुसँगको छलफलमा संविधान कार्यान्वयनका विधि र प्रक्रिया संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले तीन ठूला दलले सहमतिको नाउँमा ठगि खाने गरेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष थापाले सिमित दलका सिमित नेताले आफना स्वार्थका लागि सहमतिको रटान दोर्होयाउने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । उहाँले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भईसकेकाले त्यसको छिनोफानो भने संसदबाटै हुनुपर्नेतर्फ विपक्ष दलहरुको ध्यानाकर्षण पनि गराउनुभयो । राप्रपाले संविधान संशोधन प्रस्ताव संसदमा आएपछि त्यसलाई छलफलमा लैजान दिन विपक्ष दलहरु तयार हुनुपर्ने धारणा राख्दै आएको छ ।