इजरायली वस्ती भत्काउन संयुक्त राष्ट्र संघको आदेश

काठमाडौं, पुस ९ – संयुक्त राष्ट्र संघले इजरायल र प्यालेष्टायन सीमामा अवैध रुपमा निर्माण गरिएका इजरायली वस्ती भत्काउन आदेश दिएको छ ।राष्ट्रसंघ सुरक्षा परिषदको बैठकले अवैध रुपमा बनाइएका इजरायली वस्ती हटाउने प्रस्ताव पारित गरेको हो ।परम्परागत रुपमा सधै इजरायलको पक्षमा उभिने अमेरिकाले भने यस पटक यस प्रस्तावप्रति भीटो प्रयोग नगरेको मात्र होइन मतदानमै भाग लिएन ।

प्रस्तावको पक्षमा १४ मत परेको छ ।इजिप्टले मस्यौदा गरेको प्रस्तावको इजरायलले ट्रम्पमार्फत् हस्तक्षेप गराई फिर्ता लिन बाध्य बनाएपनि मलेशिया, न्यूजील्याण्ड, सेनेगल र भेनेजुयलामार्फत् दोस्रो पटक फेरि अगाडी बढाइएको थियो ।

प्रस्ताव रद्द गराउन भीटो प्रयोग नगरेकोमा इजरायल भने अमेरिकी प्रशासनसँग क्रूद्ध बनेको छ । इजरायल र प्यालेष्टायन सीमामा बसाइएको यहूदी वस्ती त्यस क्षेत्रको अशान्तिको कारण बन्दै आएको छ ।इजरायलले सन् १९६७ मा पश्चिमी किनारा र पूर्वी जेरुशेलम कब्जा गरेको थियो भने त्यसयता १४० वस्ती निर्माण गरी करीब पाँच लाख यहूदी बस्दै आएका छन् । (एजेन्सी)