बाढीका कारण विस्थापित भएका नागरिकलाई सरकारले अनुदान दिने

काठमाण्डौं,माघ ६-बाढीका कारण विस्थापित भएकाहरुले घर बनाउन अनुदान पाउने भएका छन् । आजको मन्त्रिपरिषद्को बैठकले २०७१ सालको बाढीका कारण विस्थापित भएका बाँके, बर्दियाका र सिन्धुपाल्चोकका नागरिकलाई अनुदान दिने कार्य्विधि पारित गरेको हो । तर घर बनाउन दिने अनुदान रकम भने खुलाइएको छैन ।

सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ ।यसअघि पनि रेडियो नेपालको कार्यकारी निर्देशक रहेका कार्कीलाई आज बसेको मन्त्रिपरिषदको बैठकले पुनः चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनको कार्यकाल मंसिर महिनामा सकिएको थियो । आज बसेको मन्त्रीपरिषद् बैठकले न्याय सेवाका पाँचजना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै डाक्टर गोविन्द केसीसँग सरकारले सम्झौताहरुलाई कार्यान्वयन गर्न समिति बनाउने निर्णय पनि गरेको छ । आज बसेको मन्त्रिपरिषद्मा वैशाखको अन्त्यमा जेष्ठ दोस्रो सातासम्म निर्वाचन गर्ने गरि तयारी थाल्ने र त्यसका लागि दलहरुसँग सहमति खोज्ने छलफल पनि भएको थियो । यसैगरी विश्व बैंकले दिने १६ अर्ब ३८ करोड रुपैयाँ ऋण सहायता स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

सो रकम जन्म दर्ता, मृत्यु दर्ता लगायतका सामाजिक तथा व्यक्तिगत घटना दर्ता प्रक्रियालाई अझै समृद्ध पार्न विश्व बैंकले दिएको हो । मन्त्रिपरिषद बैठकले किसान आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।