नेपालगञ्ज जेसिजको अध्यक्षमा शाक्य निर्वाचित

जुनियर जेसिजको अध्यक्षमा भने शिशिरराज मेचे चयन

नेपालगञ्ज,पौष,१५-

नेपालगञ्ज जेसिज वर्ष २०१९ को अध्यक्षमा रत्नकाशी शाक्य निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न शाखाको ३७ औं अधिवेशनबाट अध्यक्षमा शाक्य निर्वाचित हुनुभएको हो ।

राती करिब नौ बजे सार्वजनिक मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धी प्रज्वल कुमार श्रेष्ठलाई चार मतले पराजित गर्नुभएको निर्वाचन आयुक्त रोशन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयुक्तका अनुसार खसेको जम्मा ४८ मतमध्ये शाक्यले २६ मत प्राप्त गर्नुभएको थियो भने श्रेष्ठले २२ मत प्राप्त गर्नुभएको थियो । प्रज्वल नेपालगञ्ज जेसिज वर्ष २०१८ का कार्यकारिणी उपाध्यक्ष हुन भने शाक्य कोषाध्यक्ष हुन । नेपालगञ्ज जेसिजमा जम्मा ५७ जना सदस्य रहेका छन् ।

यसैबिच : नेपालगञ्ज जुनियर जेसिज वर्ष २०१९ का लागि भने शिशिर राज मेचे अध्यक्षमा चयन हुनुभएको छ । अधिवेशनले अध्यक्ष मेचेसहितको पदाधिकारीलाई सर्वसम्मतले चयन गरेको हो । कार्य कारिणी उपाध्यक्षद्धयमा दिपा भट्टराई र अरुण सिंह चयन हुनुभयो ।

त्यस्तै उपाध्यक्षत्रयमा सृजन शाह, सरिता थापा र गणेश न्यौपाने चयन भएको निर्वाचन आयुक्त रोशन कुमार श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशनमा उदघाटन शत्रमा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष रबिन्द्र कर्ण, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगञ्ज जेसिजका पुर्व अध्यक्ष तथा वर्तमान कार्यसमिति पदाधिकारीको उपस्थिति रहेको थियो ।