सरकारले आज स्थानीय तहको निर्वाचन मिति घोषणा गर्दै

काठमाडौं,फागुन, ९-सरकारले स्थानीय निकाय पुर्नसंरचना प्रतिवेदन संशोधन गर्दै आज निर्वाचनको मिति घोषणा गर्ने भएको छ। सत्तारुढ काँग्रेसको अडानपछि चुनाव एकै चरणमा गर्ने सरकारको तयारी छ। काँग्रेस सहित सरोकारवाला पक्षसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज दुईपटक मन्त्रिपरिषद् बैठक राखेर निर्वाचनको मिति घोषणा गर्ने तयारी गर्नु भएको हो ।

निर्वाचनको मिति घोषणापछि प्रमुख प्रतिपक्षी एमाले संविधान संशोधन प्रस्ताव अघि बढाउन सकारात्मक रहेको निष्कर्ष सहित सरकारले चुनावको मिति र संशोधन प्रस्ताव एकैसाथ अघि बढाउने रणनीति लिएको हो। स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनप्रति असन्तुष्ट मधेसकेन्द्रित दलका माग सम्बोधन गर्दै आज बस्ने पहिलो मन्त्रिपरिषद् बैठकले त्यसलाई संशोधन गर्नेछ।

स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठन भएको समितिले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनमाथि सुझाव सहित प्रतिवेदन पेस गर्नेछ । प्रधानमन्त्री निकट स्रोतले भन्यो, तराई रमधेसमा जनसंख्याका आधारमा केही संख्या बढाउने गरी विज्ञहरुको समिति गठन हुन्छ। त्यसले दिएको सुझावका आधारमा तराई र मधेसमा केही नगरपालिका र गाउँपालिकाको संख्या थप हुने स्रोतले दाबी गरेको छ।थाहाखबरबाट