निर्वाचन आचार संहिता मिच्दै दलहरु, चुनावमा बालबालिकाको प्रयोग

बाजुरा, असार,१-

बाजुरा जिल्लाका राजनीतिकदले स्थानीय तहको चुनावमा आचार संहिता मिच्दै प्रचार प्रसारलाई तिब्रता दिएका छन् । चुनावी कार्यक्रममा बालालिकाको प्रयोग गर्दै उनीहरुले आचार संहिता मिचेका हुन् ।

चुनाव चिन्ह अंकित लोगो भएका टिसर्ट, टोपी बालबालिकालाई लगाउन लगाएर चुनावी प्रचार प्रसार गर्र्दै दलहरुले आचार संहिता उल्लङ्घन गरेका हुन् ।

आचार संहिताको अनुगमनको जिम्मेवारी पाएको अनुगमन समितिले भने नदेखेझैं गरेको छ । स्थानीय तह निर्वाचन आचार संहिता अनुगमन निर्देशिका, २०७४ ले निषेध गरेका कामहरु राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन सम्बन्धी प्रचलित कानून र आचार संहिता विपरीत पोष्टर, भित्तेलेखन, तुल, ब्यानर, टिसर्ट, क्याप डिजिटल डिस्प्ले प्रयोग गर्न पाईदैन तर यहाँका सबै दलले प्रयोग गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आचार संहिताको उल्लङ्घन गरेका छन् ।तर उनीहरु यसबारे आफूहरुलाइृ जानकारी नै नभएको भन्दै पन्छिन्छन् । नेकपा एमालेका बाजुराका सचिव बलदेब रेग्मीले भन्नुभयो ‘हामीलाई आचार संहिता बारे जानकारी छ । तर सबै दलहरुले टिसर्ट प्रयोग गरीरहेका छन्, टिसर्ट ल्याई सकेपछि बल्ल आचार संहिता आयो ।’

अहिले जिल्लाका पाँच वटा गाउँपालिका र चार नगरपालिकामा एमालेले टिसर्ट, क्याप र डिजिटल चुनाव चिन्नको स्टिकर प्रयोग गरेको छ । त्यस्तै नेपाली कांग्रेस पनि टिसर्ट, क्याप र डिजिटल चुनाव चिन्हको स्टिकर प्रयोग गर्दै आचार संहिता विपरित काम गरेको छ ।

यसबाट नेकपा माओबादी केन्द्र पनि अछुतो छैन । माओवादी केन्दैले बुढिनन्दा नगरपालिकामा चुनाव चिन्ह प्रयोग गरेका टिसर्ट लगाएको पाँचसय जनाको मास उतारेको थियो ।त्यस्तै जिल्लामा बालबालिका चुनावमा प्रयोग भएको नभएको अनुगमन गर्नेको लागि महिला तथा बालबालिका कार्यालयलमा समिति समेत बनेको छ ।

महिला तथा बालबालिका अधिकृत कमला शाहीले भन्नुभयो ‘निर्वाचनका बालबालिका प्रयोग भएको जानकारी फेसबुक र एसएमबाट आउँछन् । यसको ब्यापक प्रयोग भएको देखिन्छ तर उजुरी भने आएको छैन । उजुरी आएमा कारबाही हुने उहाँले बताउनुभयो ।