आयो खजुरा कांग्रेसको प्रतिबद्धता,नमुना खजुरा बजार बनाउने अठोट

ऐलानी जग्गालाई लालपूर्जा दिनदेखि प्राविधिक मदरसा सञ्चालन सम्मका वाचा

नेपालगञ्ज, असार, ९-

नेपाली कांग्रेस खजुरा गाँउपालिकाले खजुरालाई नमुना बजार बनाउने योजनासहितको प्रतिबद्धतापत्र आज (शुक्रबार)सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट खजुरा गाउँपालिकाका प्रमुख उम्मेदवार मोहम्मद नक्की खाँले प्रतिबद्धतापत्रमा समेटिएका बुँदाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिबद्धतापत्रमा गिजरामा बसोबास गर्दै आएका बस्तीहरुलाई ऐलानी जग्गाको तत्काल लालपूर्जा दिनेदेखि लिएर मुस्लिम छात्राहरुका लागि प्राविधिक मदरसा सञ्चालन गर्नेसम्मका अठोटहरु समेटिएका छन् ।

त्यस्तै विकास निर्माणलाई तीब्रता दिने, खजुरा बजारलाई नमुना बजार बनाउँदै बजार विस्तार गर्ने, क्यान्सर अस्पताललाई २ सय सैयाको बनाउने, बृद्धबृद्धालाई स्वास्थ्य विमा, विद्युत विस्तार, कृषि क्याम्पस सञ्चालन गर्ने काँग्रेस उम्मेदवारहरुको प्रतिबद्धता छ ।

“सुकुम्बासीमुक्त, खेतखेतमा सिंचाई, घरघरमा सडक, टोलटोलमा विकासे योजना, युवाको नेतृत्वमै पाँच बर्षभित्र नमुना गाउँपालिका बनाउने कांग्रेसको सपना” भन्ने नाराका साथ तयार पारिएको प्रतिबद्धतापत्रमा युवा, महिला, बृद्धबृद्धा, अपाङ्गता भएका, एकल महिला÷पुरुष र बालबालिका, दलित समुदाय, भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत र सुकुम्बासी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको अध्यक्षका उम्मेदवार खाँले बताउनुभयो ।

“हामीले गर्न सक्ने काम गर्छौं भनेका छौं, झुठो आश्वासन हामी बाँड्दैनौं, जे गर्ने हो त्यही भनेका हौं, यी सबै कुरा पूरा गर्नलाई कांग्रेसलाई जिताउनुहोस्,” खाँले भन्नुभयो ।

इगाउँमा राष्ट्रियस्तरको क्रिकेट मैदान र डिगाउँमा फूटबल मैदान बनाउने, युवाहरुलाई कुलतमुक्त बनाउन अभियान थाल्ने, महिलाहरुलाई आयआर्जनमूलक कार्यमा लगाउने, अपांगमैत्री भौतिक संरचना बनाउने, जातीय छुवाछुट अन्त्यका लागि छुवाछुट अन्त्य शिक्षा कार्यक्रमहरु अघि बढाउने, भूमिहिन र सुकुम्बासी दलित बस्तीमा निःशुल्क आवासीय व्यवस्थ गर्ने, गाउँपालिका जोड्ने रिङ्गरोड निर्माण गरी नगरबस सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रत्येक वडा कार्यालयमा वाईफाई जोन निर्माण गर्ने, खजुराबजार व्यवसायभित्र रहेका बाटोहरुलाई कालोपत्रे गर्ने, पशु स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने, कृषि विमामा अनुदान दिई प्रोत्साहन गर्ने, सुकुम्बासी बस्तीहरुमा एक घर एक रोजगारीको व्यवस्थ गर्ने लगायतका अठोटसहित प्रतिबद्धता सार्वजनिक गरिएको छ । खजुरा गाउँपालिकामा अध्यक्षमा खाँ र उपाध्यक्षमा दिपा आले मगर चुनावी मैदानमा हुनुहुन्छ ।