नेपाली कांग्रेसको नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना

डम्मर थापा मगर/

बाँके,कार्त्तीक,२७-

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी प्रचार–प्रसारका लागि नेपाली कांग्रेसले नेपालगन्जमा क्षेत्रीय मिडिया सेन्टर स्थापना गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले सोमबार क्षेत्रीय मिडिया सेन्टरको उद्घाटन गरे । क्षेत्रीय मिडिया सेन्टरको संयोजकमा शुक्रऋषि चौँलागाई तथा सह–संयोजकमा दामोदर भण्डारी र प्रभात देवकोटा रहेका छन् ।

मिडिया सेन्टरले बाँके, बर्दिया, दाङ, सल्यान र पूर्वी रुकुमका लोकतान्त्रिक गठबन्धनका चुनावी गतिविधिहरुको प्रचार–प्रसारमा सघाउने छ । मिडिया सेन्टरको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य पाण्डेले यो चुनावमा लोकतन्त्र पक्षधर र कम्युनिष्ट अधिनायकबाद पक्षधरहरुबीचका बीचमा प्रतिस्पर्धा भईरहेको बताए । उनले साम्यवादी शासन व्यवस्था ल्याउने कम्युनिष्ट सोंचका कारण मुलुक फेरि दुर्घटनामा फस्ने सम्भावना बढेको पनि बताए ।

‘एमाले र माओवादी केन्द्रका नेताहरुको अभिव्यक्ति र गतिविधिहरुबाट मुलुक फेरि संकटमा फस्ने हो कि भन्ने आशंका बढेको छ । कम्युनिष्ट अधिनायकबाद लाद्ने प्रयत्न भईरहेको हामीले त्यसै भनिरहेका छैनौं । यो त बामगठबन्धनको ब्यबहारले नै पुष्टि गरिरहेको छ ।’, पाण्डेले भने, ‘लोकतन्त्र रोज्ने कि अधिनायकबादी व्यवस्था रोज्ने भन्ने अब जनताले निर्णय गर्ने कुरा हो ।

हामीलाई विश्वास छ, लोकतन्त्रको रक्षार्थ जनताले विगतमा जस्तै नेपाली कांग्रेसलाई साथ दिने छन् ।’कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले कम्युनिष्टहरुले लोकतन्त्रमाथि प्रहार गर्दै अधिनायकत्व लाद्ने प्रपञ्च गरिरहेको भन्दै यथार्थ चित्रण गरिदिन संचारकर्मीहरुलाई आग्रह गरिन् ।

‘लोकतन्त्र जोगाउन यतिबेला मिडियाको अहम् भूमिका छ ।संचारकर्मीहरुले लोकतन्त्रिक पक्ष र अधिनायकबाद सोंच राख्नेहरुको सुक्ष्म विश्लेषण गरी जनतालाई सचेत पारिदिनु आवश्यक छ ।’, कोइरालाले भनिन् ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय प्रचार प्रसार समितिका सदस्य समीर जङ्ग शाह, कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, सचिवद्वय तप्त पौडेल कपीलदेव शर्मा, लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार ओम प्रकाश आजाद, प्रदेश सभा उम्मेदवार गजेन्द्र हमाल, निरन्जन सिंह सिजापति, राप्रपाका नेता ऋषि देवकोटा, उपमेयर उमा थापा मगर लगायत सहभागि थिए ।