कोहलपुरमा काँग्रेसद्वारा घोषणा पत्र सार्वजनिक

समृद्ध कोहलपुर निर्माण गर्ने मेयर पदका उम्मेदवार भट्टराइको प्रतिबद्धता

कोहलपुर, असार, ९
नेपाली काँग्रेस कोहलपुरले समृद्ध कोहलपुरको विकासका मुद्धाहरु समेटेर आफ्नो प्रतिबद्धता तथा घोषणा पत्र सार्वजनिक गरेको छ । काँगे्रसका तर्फबाट कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेद्वार भानु्भक्त भट्टराइ र उपमेयर सञ्जु थारुले कोहलपुरको समग्र विकाससहितको खाका प्रस्तुत गर्नु भयो ।

कोहलपुरलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्य सहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रबद्र्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा सुशासनका क्षेत्रमा विभिन्न प्रतिबद्धता जनाइएको छ ।

कोहलपुरको भूमि व्यवस्थापन, कृषिको व्यवसायिक विकास, भूमिगत सिचाई, कोहलपुर नगरमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन गर्न पूर्वा प्राथमिक कक्षाहरु मन्टेश्वरी विधिबाट सञ्चालन गर्ने प्रतिवद्धता पत्रमा जनाईएको छ ।

“म स्वस्थ, मेरो नगर स्वास्थ्य” भन्ने नारालाई मूर्तरुप दिन स्वास्थ्य बिमा प्रारम्भ गर्ने, कोहलपुर रिङ रोडको निर्माण गरी नगगर बस सेवा सञ्चालन गर्ने, कोहलपुर बस पार्कलाई अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय बसपार्कको रुपमा विकास गर्ने कोहलपुरलाई आवास क्षेत्र र उत्पादन क्षेत्रको वर्गिकरण गरी नगरको विकास गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सुव्यवस्थित ढल निकास, सुन्दर शहरको आधार भन्ने नारालाई व्यवहारमा उतार्न भूमीगत पाइप लाइनको माध्यमबाट ढक निकासको व्यवस्था गर्ने, “फोहरबाट मोहर” अभियान सञ्चालन गरी रिसाईकिल पलान्टबाट फोहरको बहुउपयोगितामा जोड दिईने, नगर क्रिकेट वोर्ड गठन गरी प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नती गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सांस्कृतिक बहुआयामिकता अन्तर्गत् सामाजिक सद्भावलाई प्रगाढ बनाउने, मठमन्दिर, मस्जिद, चर्च, धर्मशाला, कर्वला क्षेत्रको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने, सार्वजनिक जग्गाको पहिचान गरी त्यसको अधिकतम् प्रतिफल आउने गरी व्यवस्थापन गर्ने, विभिन्न धर्मका धर्माबलम्वी र तीर्थ यात्रीका लागि धर्मशाला निर्माण गर्ने अठोट नेपाली कांग्रेसका मेयर उपमेयरका उम्मेदवाहरुको प्रतिवद्धता रहेको छ ।

बाल उद्यान तथा पार्क निर्माण, अति विपन्न वर्गका बालबालिकाहरुलाई निशूल्क शिक्षा र स्वास्थ्यको प्रवन्ध मिलाईने, जेष्ठ नागरिकहरुका लागि आवास फूलवारी सहितका मिलन केन्द्रहरु निर्माण गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

“गरिबसँग विशेश्वर” कार्यक्रमलाई वडास्तरमा विस्तार गरिनेछ, कोहलपुर क्षेत्रमा प्रत्येक वर्ष “एक वर्ष, एक रुख” वृक्षारोपण अभियानलाई अगाडि बढाईने प्रतिबद्धता जनाइएको छ । कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार भट्टराईले हरेक समस्या बारे आफू अवगत र अनुभवी भएकाले घोषणा पत्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमेयरका उम्मेदवार थारुले सुन्दर, शान्त र समृद्ध कोहलपुरका लागि काँग्रेसले सार्वजनिक गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताउनुभयो । कोहलपुरको विकासमा यस अघिका व्यक्तिहरुको इच्छा शक्ति नभएकाले सोचे अनुरुपको बिकास हुन नसकेकाले आफूहरुले कोहलपुरलाइ नमूना कोहलपुर बनाउने दाबी गर्नुभयो ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रनं.१ बाँकेका क्षेत्रिय पार्टी सभापति माधवराम खत्री, काँग्रेस कोहलपुर नगरका सभापति बलराम शर्मा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।