नेपाली कांग्रेसले गर्यो नेपालगञ्जमा प्रचारप्रसार तीब्र

बाँके,असार १०-
नेपाली कांग्रेसले आज पनि नेपालगञ्जमा चुनाव प्रचारप्रसारलाई तिब्रता दिएको छ । मेयरका उम्मेदवार डा.सुरेश कुमार कनोडिया र उपमेयर उम्मदवार लगायत वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु विहानैदेखि अबेर साँझसम्म घरदैलो, भेटघाट, कोणसभामा ब्यस्त रहे ।

मेयर र उपमेयरका उम्मेदवारले आज विहान लायन्स क्लबका सदस्यहरुसंग छलफल गरेर आजको प्रचार अभियानको थालनी गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रचार प्रचार संयोजक सुरेन्द्र हमालले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ४, ७ र ११ मा घरदैलो कार्यक्रम गरिएको छ ।

वडा नम्बर ३ बाल्मिकी टोल, वडा नम्बर ६ फूल्टेक्रा र वडा नम्बर १२ मा कोणसभा गरिएका छन् । त्यस क्रममा उम्मेदवारहरुले नेपालगञ्जको विकास र समृद्धिका लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।
बैजनाथमा एमालेलाई फेरि अर्को झट्का

बाँकेको बैजनाथमा एमाले परित्याग गर्नेहरु बढिरहेका छन् । आज वडा नम्बर ६ मा नेकपा एमालेका ४५ जना नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका छन् । जोधीराम थारुको नेतृत्वमा उनीहरु कांग्रेसमा आएका हुन् ।

उनीहरुलाई कांग्रेस केन्द्रिय सदस्य पूर्णबहादुर खड्काले पार्टी प्रबेश गराउनुभएको हो । यसअघि बैजनाथकै ८ नम्बर वडाका सय जना एमाले कार्यकर्ता कांग्रेसमा प्रबेश गरेका थिए ।