बाजुरामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा

रमित बि.क.,

बाजुरा,असार,१३-
भोली हुने स्थानिय तह दोस्रो चरणको चुनावको सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकामा स्थानिय तह दोस्रो तहको निर्वाचनका लागी मतपेटीका लिएर सम्बन्धित मतदान केन्द्रमा पुगीसकेका छन् ।

१४ गतेको दिन पानी पर्ने सक्ने सम्भावना भएकाले पाल टाँगेर मतदान प्रक्रिया सुचारु गर्नेका लागी निर्देशन दिईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी धर्मराज जोशीले बताउनुभएको छ । अहिले सम्म सबै मतदान अधिकृतहरु सम्पर्कमा रहेको र प्रहरीको सेटबाट कुराकानी भईरहेको बताउनुभयो ।

उहाँले जिल्लाभरी ७० प्रतिशत भन्दा बढी मतदाताहरुले मतदाता परिचयपत्र लिईसकेको समेत बताउनुभएको छ । जिल्लामा ९२ वटा मतदान केन्द्र रहेका छन् । यस बर्षको स्थानिय निर्वाचनमा बाजुराबाट ६४ हजार ९ सय ५० मतदाताहरुले मतदान गर्ने भएका छन् । जसमा ३२ हजार ५ सय २१ पुरुष ३२ हजार ४ सय २७ महिला रहेका छन् भने २ जना तेस्रो लिंगी रहेका छन् ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई मापदण्ड अनुसार खटन पटन गरिएको मुख्य निर्वाचन अधिकृतका कार्यालय बाजुराले जनाएको छ । जिल्लामा कार्यरत ५४४ जना सबै मतदान केन्द्रमा खटिने भएका हुन् । जिल्लामा ९२ जना मतदान अधिकृत,९२ जना नै सहायक मतदान अधिकृतहरु खटिएका छन् ।